EN

स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकामा लामो समयदेखि जग्गा विवादका कारण रोकिएको प्रशासकीय भवनको निर्माण कार्य पुनः सुरु भएको छ। जग्गाको समस्या समाधान भएसँगै करिब तीन महिनादेखि निर्माणाधीन अवस्थामा अलपत्र परेको भवनले अहिले गति लिएको हो। २०८२ वैशाख ४ गते प्रजिल कन्स्ट्रक्सनसँग भएको सम्झौता अनुसार उक्त भवन कुल ३ करोड ७३ लाख ४५ हजार ८ सय ६७ रुपैयाँ २१ पैसाको लागतमा निर्माण हुन लागेको हो। निर्माण कम्पनीले गाउँपालिकाले तयार पारेको ड्रइङ अनुसार आगामी १८ महिनाभित्र कार्य सम्पन्न गर्ने गरी जिम्मेवारी लिएको छ।

बिज्ञापन

विवादका कारण काममा केही महिना ढिलाइ भए तापनि अब कुनै अवरोध नभएमा तोकिएको समयमै भवन तयार गरिसक्ने लक्ष्य निर्माण कम्पनीले राखेको छ। लामो समयदेखि आफ्नै व्यवस्थित भवन नहुँदा साँगुरो र अव्यवस्थित ठाउँबाट सेवा लिन बाध्य स्थानीय बासिन्दाहरू अहिले निर्माण कार्य सुरु भएसँगै उत्साहित बनेका छन्। अन्य पालिकाका सुविधासम्पन्न भवन देख्दै आएका यहाँका स्थानीयले लामो समयदेखि व्यवस्थित प्रशासनिक केन्द्रको माग गर्दै आइरहेका थिए।

बिज्ञापन

गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले भने सुरुवाती चरणमा प्रशासकीय भवनभन्दा पनि स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राख्नुभएको थियो। उहाँले आफ्नो दुई कार्यकाल पुरानै भवनबाट बिताउने योजना रहेको र जनताका लागि अस्पताल बन्नु अनिवार्य रहेको बताउँदै आउनुभएको थियो। सोही अनुरुप सुरुमा प्रशासकीय भवनका लागि आएको बजेट संघीय सरकारलाई नै फिर्ता गरेको हरिनास गाउँपालिकाले मग्याम चिसापानीमा सुविधासम्पन्न अस्पतालको निर्माण कार्य २५ प्रतिशत सम्पन्न भएपछि मात्र यस भवनको ठेक्का प्रक्रिया अगाडि बढाएको थियो।

नयाँ भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाको सेवा प्रवाह अझ सरल, सहज र व्यवस्थित हुने विश्वास गरिएको छ। यसका साथै पालिकाका महत्त्वपूर्ण सरकारी दस्तावेजहरू पनि सुरक्षित रहनेछन्। हरिनास गाउँपालिकालाई समृद्ध र सेवामैत्री बनाउने अभियान अन्तर्गत नयाँ भवन निर्माणको काम अगाडि बढाइएको बताउँदै अध्यक्ष मानन्धरले आफ्नो बाँकी कार्यकालको समय विकास निर्माणका कार्यमै खर्चने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च