हल्दीबारी, झापा झापाको हल्दीबारी गाउँपालिका–४ मा रहेको पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहले बढ्दो जाडोलाई मध्यनजर गर्दै स्थानीयस्तरमा दाउरा वितरण गरेको छ। चिसोका कारण जनजीवन प्रभावित हुन थालेपछि सामुदायिक वनले आफ्नो कार्यक्षेत्रभित्र पर्ने विभिन्न चोक तथा विपन्न बस्तीहरूमा आगो ताप्ने व्यवस्था मिलाएको हो।
बिज्ञापन

बिज्ञापन
वन समूहका अनुसार हल्दीबारी–४ का १८ वटा विभिन्न स्थानमा करिब २० क्विन्टल दाउरा वितरण गरिएको छ। विशेष गरी विपन्न परिवारको बसोबास रहेको क्षेत्र र मानिसहरूको बढी आवतजावत हुने सार्वजनिक चोकहरूलाई लक्षित गरी दाउरा उपलब्ध गराइएको हो। जाडोबाट बच्न र स्थानीयलाई राहत दिन सामुदायिक वनले हरेक वर्ष यस्ता सामाजिक कार्य गर्दै आएको छ।

बिज्ञापन
स्थानीयस्तरमा अचानक बढेको शीतलहर र चिसोका कारण वृद्धवृद्धा, बालबालिका र दैनिक ज्यालादारी गर्ने मजदुरहरू बढी प्रभावित भएका छन्। वनले गरेको यो पहलपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन्। आगो ताप्ने व्यवस्थाले चिसोबाट जोगिन ठूलो मद्दत पुग्ने विश्वास वन उपभोक्ता समूहले लिएको छ।







