यात्राको कष्ट र हिमालको शीतलता स्याङ्जाको हरिनाश गाउँपालिका वडा नम्बर ७, कुटुम्साको उकालो काट्नु कुनै चुनौतीभन्दा कम छैन। पहाडी कच्ची बाटो, धुलो र थकानले शरीर शिथिल भइरहँदा मनमा एउटै कौतुहलता हुन्छ—कस्तो होला त्यो गन्तव्य? तर जब यात्राको अन्तिम विन्दुमा पुगेर आँखा अगाडि हेरिन्छ, तब सारा कष्ट एउटा सुन्दर सपनामा परिणत हुन्छ। ठिङ्ग उभिएका सेताम्मे माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाले यसरी स्वागत गर्छन् कि लाग्छ, हामी धर्तीको कुनै सामान्य ठाउँमा होइन, स्वर्गको कुनै कुनामा आइपुगेका छौँ। हिमालको त्यो दिव्य चमकले आँखालाई मात्र होइन, आत्मालाई नै सितल बनाइदिन्छ।
बिज्ञापन

बिज्ञापन
समीको छहारी र पदमार्गको आध्यात्मिक अनुभव मन्दिरको प्राङ्गणबाटै सुरु हुने सिँढी नै सिँढीकाे पदमार्गले यात्रीलाई एउटा छुट्टै शान्तिको आभास गराउँछ। पदमार्गको छेवैमा रहेको विशाल र प्राचीन समीको रूख यो ठाउँको मौन साक्षी जस्तै उभिएको छ। पहाडी भेगको तातो उकालो काटेर आउने जो कोहीका लागि त्यो रूखबाट बहने चिसो हावा र त्यसको शीतल छाया एउटा वरदान साबित हुन्छ। समीको पातको मर्मर आवाज र चिसो बतासले शरीरको सम्पूर्ण थकान निमेषभरमै मेटाइदिन्छ। यहाँ पुग्दा लाग्छ, प्रकृति आफैँले हामीलाई सुम्सुम्याइरहेको छ।

बिज्ञापन
ऐतिहासिक विरासत: जहाँ ढुङ्गामा देउता देखिन्छ ‘सतौँ चण्डी थान’ को आफ्नै मौलिक र ऐतिहासिक गरिमा छ। यहाँ कुनै आधुनिक र चमकधमकपूर्ण मूर्तिहरू छैनन्। हाम्रा पुर्खाहरूले जसरी प्रकृतिलाई पुज्ने गर्थे, त्यही आदिम परम्परा यहाँ आज पनि जीवित छ। यहाँका शिला अर्थात् ढुङ्गाहरू नै शक्तिका स्वरूप हुन्। प्रकृति पूजाको यो जीवन्त रूपले हामीलाई सिकाउँछ कि भगवान कतै टाढा छैनन्, हाम्रै वरिपरिका ढुङ्गा, माटो र रूखहरूमा छन्। मन्दिरभित्रका पुराना घण्टीहरूको गुञ्जनले इतिहासको कुनै कालखण्डमा पुर्याएको भान गराउँछ। जनविश्वास छ कि यहाँ आएर शुद्ध मनले मागेका हरेक चाहनाहरू चण्डी माताले पूरा गरिदिनुहुन्छ।

शिखरबाट देखिने संसार: ३६० डिग्रीको विहङ्गम दृश्य यस थानको भौगोलिक अवस्थिति यति विशिष्ट छ कि यहाँबाट चारैतिरको दृश्य एउटै नजरमा कैद गर्न सकिन्छ। उत्तरतर्फ अटल हिमाल त छँदैछ, दक्षिणतर्फ नजर डुलाउँदा नवलपरासीको देवचुली, धौवादी र कौले डाँडाहरूको मनोहर दृश्य देखिन्छ। पश्चिम र पूर्वतर्फ तनहुँ र स्याङ्जाको सिमानाका तीनघरे डाँडा र पाल्पाका अनगिन्ती पहाडी थुम्काहरूले लुकामारी खेलिरहे जस्तो लाग्छ। चानसिंह, अमला भञ्ज्याङ र दग्दीका बस्तीहरूलाई माथिबाट नियाल्दा यो ठाउँ कुनै भ्यू-टावरभन्दा कम लाग्दैन। लाग्छ, सिङ्गो नेपालको एउटा सुन्दर तस्बिर यही पहाडको टाकुरामा समेटिएको छ। यहाँ बाट हरिनास बन गाउँपालिकाका वडा नं. ४,६ र ७ का धेरै स्थानको अवोलकन गर्न सकिन्छ ।

शिक्षाको मन्दिर: श्री पोखरी भञ्ज्याङ आधारभूत विद्यालय आध्यात्मिक आस्थाको यो केन्द्रको नजिकै अर्को एउटा महत्वपूर्ण मन्दिर छ—शिक्षाको मन्दिर। मन्दिरकै सामिप्यतामा रहेको ‘श्री पोखरी भञ्ज्याङ आधारभूत विद्यालय’ ले यस क्षेत्रको अन्धकारलाई चिर्ने काम गरिरहेको छ। एकातिर चण्डी थानले मानिसको मनमा श्रद्धा र शान्ति भर्छ भने अर्कोतिर यो विद्यालयले यहाँका सन्ततिहरूको भविष्य उज्ज्वल बनाउन ज्ञानको ज्योति छरिरहेको छ। मन्दिर र विद्यालयको यो निकटताले यो ठाउँलाई संस्कार र शिक्षाको सुन्दर सङ्गम बनाएको छ।

स्थानीय आतिथ्यता र भविष्यको आशा दुर्गम लागे पनि यहाँको आतिथ्यताले मन छुन्छ। होटलहरूको सुविधा नभए पनि स्थानीयका घरमा पाइने कोदो, फापरका परिकार र लोकल कुखुराको स्वादले यात्रालाई थप जीवन्त बनाउँछ। स्थानीय बासिन्दाको सरल व्यवहार र न्यानो माया नै यहाँको असली सम्पत्ति हो। यदि स्थानीय, प्रदेश र संघीय सरकारले समन्वय गरेर सडकको सुधार र पदमार्गको उचित व्यवस्थापन गर्ने हो भने, यो क्षेत्र पर्यटनको एउटा बलियो खम्बा बन्न सक्छ। यहाँको ३६० डिग्री भ्यू र ऐतिहासिक मन्दिरलाई संसारसामु चिनाउनु हामी सबैको दायित्व हो।






