EN

कावासोती, नवलपुर । नवलपुरको राजनीतिक आकाशमा यसपटक एउटा नयाँ र उत्साहजनक बहस सुरु भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले एक यस्ता नेतालाई चुनावी मैदानमा उतारेको छ, जसको नशा-नशामा लोकतन्त्र र संगठनको रगत बगेको छ। उनी हुन्— ओम बहादुर घर्ती

बिज्ञापन

२०७९ को निर्वाचनमा विष्णु कुमार कार्कीले जितेको यस क्षेत्रमा कांग्रेसले यसपटक विरासत जोगाउने र थप सुदृढ बनाउने जिम्मेवारी नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघका केन्द्रिय सभापति घर्तीलाई सुम्पेको छ।

बिज्ञापन

विद्यालयको ईकाईदेखि केन्द्रिय राजनीतिको शिखरसम्म

हुप्सेकोटको माटोमा जन्मिएका ओम बहादुर घर्तीको राजनीतिक यात्रा कुनै संयोग होइन, बरु एउटा लामो तपस्या हो। वि.स. २०४६ सालमा जनआन्दोलनको राँको दन्किँदै गर्दा सरस्वती माध्यमिक विद्यालयको नेविसंघ ईकाई अध्यक्षबाट उनले जुन राजनीतिक यात्रा सुरु गरे, त्यो आज देशकै ठूलो पार्टीको प्रभावशाली पदसम्म आइपुगेको छ।

उनको नेतृत्व क्षमताको परीक्षण जिल्लाकै पहिलो क्याम्पस, कुमारवर्ती बहुमुखी क्याम्पसमा भयो। २०५३ सालमा ईकाई सभापति बनेका घर्तीले त्यहाँ पहिलो स्ववियु निर्वाचन गराउन खेलेको भूमिका आज पनि पुराना विद्यार्थी नेताहरू सम्झिन्छन्। २०६४ सालमा नेपाल राष्ट्रिय मगर संघको महासचिव बनेपछि उनको पाइला केन्द्रिय राजनीतिमा सरेको थियो।

बिज्ञापन

‘तदर्थबाद’ अन्त्य गर्ने साहसी सारथी

नेपाली कांग्रेसभित्र भातृ संस्थाहरू वर्षौंसम्म ‘तदर्थ समिति’ मा अल्झिरहँदा घर्तीले एक सफल संगठकको परिचय दिए। शेरबहादुर देउवाले २०७९ मा जिम्मेवारी दिएपछि उनले २०८१ मा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको भव्य महाधिवेशन सम्पन्न गरे। दोस्रो कार्यकालका लागि निर्वाचित हुँदै गर्दा उनले कांग्रेसभित्र ‘निर्वाचन र विधि’ को संस्कार कति बलियो छ भन्ने प्रमाणित गरिदिए।

रुपान्तरणको स्वर र युवाको आशा

घर्ती केवल पदका लागि राजनीति गर्ने नेता मात्र होइनन्। उनी शिक्षाप्रेमी पनि हुन्। हुप्सेकोटमा अङ्ग्रेजी माध्यमको ‘अर्पण ईङ्ग्लिस बोर्डिङ स्कुल’ संचालन गरेर उनले स्थानीय शिक्षामा योगदान दिएका छन्।

पछिल्लो समय कांग्रेसभित्र ‘पुस्तान्तरण’ र ‘रुपान्तरण’ को जुन बहस चलेको छ, घर्ती त्यसका प्रखर वक्ता हुन्। पुस २७-२८ मा काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनमा उनले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने पक्षमा वकालत गरेका थिए। पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको निकट रहेर काम गरिरहेका उनी यसपटक नवलपुर-२ मा कांग्रेसको ‘फेस’ बनेका छन्।

कस्तो छ चुनावी मैदान?

यो निर्वाचन घर्तीका लागि मात्र होइन, कांग्रेसका लागि पनि प्रतिष्ठाको विषय बनेको छ। मैदानमा उनीसँगै:

  • तिल बहादुर महत (नेकपा एमाले)

  • गणेशमान महतो (नेकपा)

  • मनिस खनाल (रास्वपा)

सहित १८ जना उम्मेदवारहरू छन्। एकातिर अनुभवी पुराना शक्ति र अर्कोतिर नयाँ उदीयमान दलहरूको चुनौतीका बीच, ओम बहादुर घर्तीले ‘जिल्लाको माटो र युवाको जोस’ लाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।

स्नातक उत्तीर्ण, बौद्धिक र ग्रासरुटबाटै राजनीति बुझेका घर्तीलाई उम्मेदवार बनाएर कांग्रेसले नवलपुरका आदिवासी, जनजाती र युवा मतदाताहरूमा एउटा सकारात्मक सन्देश प्रवाह गरेको छ। अबको फैसला फागुन २१ गते नवलपुरका जनताको हातमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च