EN

अछाम, माघ २० २०४७ सालदेखि नेपाली राजनीतिको मञ्चमा प्रभावशाली भूमिका खेल्दै आएका डा. भीम रावल यसपटक अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट पुनः चुनावी मैदानमा उत्रिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रावलले आफ्नो राजनीतिक जीवनमै पहिलोपटक नेकपा एमाले बाहेकको चुनाव चिह्न ‘तारा’ लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन्।

बिज्ञापन

२०५१ सालयताका निर्वाचनमा पाँचपटक विजयी भइसकेका रावललाई एमालेबाट निष्कासित गरिएपछि उनको राजनीतिक भविष्यमा प्रश्न उठेको थियो। तर, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरूबीचको एकीकरणबाट बनेको नयाँ ‘नेपाली कम्युनिस्ट पार्टी (नेकपा)’ मा आबद्ध भएसँगै उनी फेरि सक्रिय राजनीतिमा फर्किएका हुन्।

बिज्ञापन

सूर्य छाडेर ‘तारा’मा भोट माग्दै रावल दशकौँसम्म ‘सूर्य’ चिह्नमा भोट मागेका रावल अहिले अछामका साँफे, मेल्लेख, बाब्ला र रामारोशनका टोल-टोलमा पुगेर ‘तारा’ चिह्नमा मतदान गर्न आग्रह गरिरहेका छन्। उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छन्। एमालेको बलियो सङ्गठन विना चुनावी मैदानमा रहेका रावलका लागि यो निर्वाचन ‘पार्टी ठूलो कि व्यक्ति’ भन्ने परीक्षणको घडी पनि बनेको छ।

त्रिपक्षीय भिडन्त र २६ वर्षदेखिको कांग्रेसको भोक अछाम-१ मा रावलसहित ७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। मुख्य प्रतिस्पर्धा रावल, एमालेका दीपक साउँद र कांग्रेसका भरतकुमार स्वारबीच हुने देखिन्छ।

बिज्ञापन
  • दीपक साउँद (एमाले): एमालेले अन्तिम समयमा झपट बोहराको टिकट खोसेर पूर्व माओवादी नेता साउँदलाई उम्मेदवार बनाएको छ। उनी जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी छाडेर एमाले प्रवेश गरेका हुन्।

  • भरतकुमार स्वार (कांग्रेस): कांग्रेसले आफ्ना पुराना र दिग्गज नेता स्वारलाई उठाएको छ। यस क्षेत्रमा विगत २६ वर्षदेखि कांग्रेसले जित्न सकेको छैन। यसपटक रावल र साउँदबीच कम्युनिस्ट मत बाँडिँदा त्यसको फाइदा आफूलाई हुने आशमा कांग्रेस छ।

अंकगणितमा रावलको चुनौती २०७९ को निर्वाचनको मत परिणाम हेर्दा रावलका लागि चुनौती सजिलो छैन। तत्कालीन समयमा कांग्रेसले ४ वटा स्थानीय तह जितेको थियो भने एमालेले एउटा पनि जित्न सकेको थिएन। समानुपातिकतर्फ कांग्रेसले १४,५२५ र एमालेले १३,९६८ मत पाएका थिए। रावलको नयाँ पार्टी नेकपा (माओवादी र एकीकृत समाजवादीको तत्कालीन मत) को जोड करिब ९,९७५ मात्रै छ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावल, नेमकिपाका सुरेन्द्र शाही र राप्रपाका लोकेन्द्र शाहले पनि उम्मेदवारी दिएका छन्। बालेन्द्र शाहको चर्चा र रास्वपाको उदयले गर्दा नयाँ मतदाताको झुकाव कता जान्छ भन्ने कुराले पनि रावलको हारजितमा भूमिका खेल्ने देखिन्छ।

लामो समय एमालेको नीति र सिद्धान्तमा रहेका रावलले नयाँ दल र नयाँ चुनाव चिह्नबाट अछामका मतदातालाई कत्तिको रिझाउन सक्छन् भन्ने कुरा फागुन २१ को निर्वाचनले नै प्रष्ट पार्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च