रत्ननगर । रत्ननगरमा सत्ता गठबन्धन दलहरु बीच भएको भागबण्डा प्रति नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र )ले असहमति जनाएको छ । भागबण्डा प्रति गम्भिर असन्तुष्टी जनाउँदै माओवादी केन्द्र रत्ननगर नगर कमिटीले आज साँझ एक विज्ञप्ति जारी गरेर एक्लै चुनाव लड्ने बताएको छ ।
नगर प्रमुख उपप्रमुखको भागबन्डामा आफ्नो पार्टीको प्रतिनिधित्व नरहेको र वडाध्यक्षको बाँडफाँडमा पनि पार्टीको सदस्य संख्या, भौगोलिक अवस्था र जनमतको आधार विपरित भएको भन्दै रत्ननगरको १६ वटै वडामा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरिएको माओवादी केन्द्रले जानकारी दिएको छ ।



माओवादी केन्द्रले रत्ननगरमा मेयर, उपमेयर र १६ वटै वडामा वडाध्यक्ष र सदस्यहरुको उमेदवार समेत चयन गरिसकेको नगर सचिव मेघनाथ पौडेलले वताए । सो पार्टीले रत्ननगरको मेयरमा राजु अम्गाई सुवोध, उपमेयरमा संगिता भटराई अघि सारेको छ ।
नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) रत्ननगरले मनोनयन दर्ताका लागि सोमबार नगर कमिटिले उमेदवारहरुलाई विहान १० वजे पार्टी कार्यालयमा उपस्थित हुन आन्तरीक सर्कुलर जारी गरेको सचिव पौडेलले वताए ।
पाँच दलीय गठबन्धन भित्र सहमति हुन नसके पछि सवै राजनैतिक दलहरुसँग मित्रवत प्रतिस्र्पधा गरेर चुनावमा जान लागेको माओवादी केन्द्रले प्रस्ट पारेको छ ।
यस अघि रत्ननगरमा मेयर काँग्रेस, उपमेयर समाजवादी, नौ ओटा वडा काँग्रेस, चार ओटा वडा माओवादी र तीन ओटा वडा समाजवादीलाई हुने गरी सहमतीको खाका तय भएकोे थियो ।












