रुकुम पश्चिममा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान आगामी माघ २७ गतेदेखि सञ्चालन हुने भएको छ। जिल्ला खोप समन्वय समितिले खलंगामा सञ्चारकर्मीहरूसँग अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै फागुन १ गतेसम्म चल्ने यस अभियानबारे औपचारिक जानकारी दिएको हो। विशेषगरी विद्यालय तहमा अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी यो खोप कार्यक्रम सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत हरि पुनले स्पष्ट पार्नुभयो।
बिज्ञापन
यस पटकको नियमित खोप कार्यक्रम अन्तर्गत जिल्लाभरका कुल १ हजार ८ सय ५० जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ। तथ्याङ्क अनुसार विद्यालयमा अध्ययन गरिरहेका १ हजार ७ सय ७९ जना र विद्यालयको पहुँचभन्दा बाहिर रहेका ७१ जना किशोरीहरू यस अभियानबाट लाभान्वित हुनेछन्। अभियानलाई प्रभावकारी बनाउन जिल्लाका १ सय २८ वटा विद्यालय र ७६ वटा स्वास्थ्य केन्द्रहरूलाई खोप केन्द्रको रूपमा तोकिएको छ।
बिज्ञापन
खोप कार्यक्रमलाई सफल पार्न १ सय २८ जना दक्ष स्वास्थ्यकर्मीहरू प्रत्यक्ष रूपमा खटिनेछन्। विद्यालयमा खोप लगाउन छुटेका किशोरीहरूका लागि नजिकैको स्वास्थ्य संस्थाबाट खोप लिने विशेष व्यवस्था समेत मिलाइएको छ। पाठेघरको मुखको क्यान्सरका कारण हुने अपाङ्गता र मृत्युदरलाई न्यूनीकरण गर्ने मुख्य उद्देश्यका साथ यो अभियान अघि सारिएको हो। समाजमा खोपप्रति हुनसक्ने गलत धारणा र भ्रमहरूलाई चिर्दै ढुक्क भएर खोप लगाउन स्वास्थ्य सेवा कार्यालयले सबैमा आग्रह गरेको छ।
जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विकको अध्यक्षतामा सम्पन्न उक्त अभिमुखीकरण कार्यक्रममा जिल्ला अस्पताल सल्लेका डाक्टर जीवन परियारले खोपको महत्व, यसका लक्षण र बच्ने उपायबारे जानकारी गराउनुभएको थियो। विभिन्न संघसंस्थाका प्रमुख, प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले गर्नुभएको थियो।







