साउदी अरबमा पछिल्ला दिनमा भएका हवाई आक्रमणसँग सम्बन्धित घटनामा एक नेपाली कामदारको मृत्यु भएको छ भने अन्य तीन जना नेपाली घाइते भएका छन्। परराष्ट्र मन्त्रालयले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ।
उपचारका क्रममा एक जनाको मृत्यु
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार मंगलबार भएको आक्रमणमा घाइते भएका एक नेपालीको उपचारका क्रममा मृत्यु भएको हो। ती कामदारको शरीरको करिब ६८ प्रतिशत भाग जलेको थियो। मन्त्रालयले बिहीबार उनको मृत्युबारे जानकारी पाएको जनाएको छ।
Advertisement
मन्त्रालयका अनुसार पछिल्ला घटनामा मिसाइल तथा ड्रोन अवरोध गर्ने क्रममा खसेका अवशेषका कारण चार नेपाली प्रभावित भएका थिए। तीमध्ये एक जना सामान्य उपचारपछि घर फर्किएका छन् भने दुई जना गम्भीर घाइते अवस्थामा उपचाररत छन्। एक जनाको उपचारकै क्रममा मृत्यु भएको हो।
शव नेपाल ल्याउन दूतावासको समन्वय
साउदी अरबस्थित नेपाली दूतावासले घाइतेहरूको उपचार अवस्थाबारे जानकारी लिने, अस्पतालसँग समन्वय गर्ने र मृतकको शव नेपाल ल्याउने प्रक्रिया अघि बढाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दूतावासले साउदी अरबमा रहेका नेपाली समुदायलाई सतर्क रहन पनि आग्रह गरेको छ।
Advertisement
नेपालद्वारा आक्रमणको निन्दा
नेपाल सरकारले नेपाली नागरिकको मृत्यु र अन्य तीन जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै नागरिक तथा सार्वजनिक पूर्वाधारलाई कुनै पनि बहानामा निशाना बनाउन नहुने स्पष्ट पारेको छ। सरकारले सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन र विवाद तथा द्वन्द्वको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न आग्रह गरेको छ।
साउदी अरब नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुकमध्ये एक हो। पछिल्ला घटनाले त्यहाँ कार्यरत नेपालीको सुरक्षा र आपत्कालीन अवस्थामा दूतावासको सहयोग प्रणालीबारे फेरि चासो बढाएको छ। घटनामा संलग्न पक्ष, प्रभावित स्थान र सुरक्षा अवस्थाबारे थप आधिकारिक विवरण आउन बाँकी छ।





टिप्पणीहरू