स्याङ्जा, माघ २०८२
बिज्ञापन
नेपालको वित्तीय र कृषि क्षेत्रमा ‘सिस्टम’ बसाल्न सफल एक प्रखर व्यक्तित्वको नाम हो— भरत राज ढकाल। दुई दशकभन्दा लामो समय बैंकिङ र कृषि व्यवसायमा खर्चिएका ढकाल अहिले आफ्नो जन्मथलो स्याङ्जाको माटो फेर्न राजनीतिक मैदानमा उत्रिएका छन्। नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएपछि जिल्लामा एउटा नयाँ आशा र बहसको लहर सिर्जना भएको छ।
बिज्ञापन
“बैंक जनतामा जानुपर्छ” भन्ने त्यो क्रान्तिकारी सुरुवात
सन् २००७ मा जब नेपालका अधिकांश बैंकहरू सहर केन्द्रित र टाठाबाठाको पहुँचमा मात्र थिए, त्यतिबेला भरत राज ढकालले एउटा सपना देख्नुभयो— “जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ।” यही मूल मन्त्रका साथ मुक्तिनाथ विकास बैंकको स्थापना भयो। ढकालकै भिजनका कारण बैंकले आधुनिक बैंकिङ, सीमित बैंकिङ र लघुवित्तलाई एउटै छानामुनि ल्याएर गाउँ-गाउँका साना किसान र व्यवसायीको ढोका ढकढक्याउन पुग्यो। आज मुक्तिनाथ विकास बैंक नेपालको उत्कृष्ट र सबैभन्दा विश्वसनीय विकास बैंक हुनुमा उनको व्यवस्थापकीय कौशलको ठूलो हात छ।
बिउदेखि भान्छासम्म: कृषिमा दोस्रो फड्को
बैंकिङ क्षेत्रमा उचाइ हासिल गरेपछि ढकालले नेपालको मुख्य समस्या ‘कृषि’ मा देखे। सन् २०१८ मा उनले मुक्तिनाथ कृषि कम्पनी लिमिटेड (MKCL) को स्थापना गरे। परम्परागत निर्वाहमुखी कृषिलाई व्यवसायीकरण गर्ने उद्देश्यले खोलिएको यो कम्पनीले अहिले नेपालको कृषि ‘भ्यालु चेन’ मै परिवर्तन ल्याइरहेको छ।
बिज्ञापन
स्याङ्जा र ललितपुरमा रहेका कम्पनीका अनुसन्धान केन्द्रहरू (R&D Farms) मार्फत उन्नत बिउ, गुणस्तरीय मल र आधुनिक प्रविधिको परीक्षण गरी किसानसम्म पुर्याउने कामको नेतृत्व ढकालले नै गरिरहनुभएको छ। “नेपाली युवाहरू विदेशिने क्रम रोक्ने एक मात्र कडी कृषिमा आधुनिकिकरण हो” भन्ने उनको अडान छ। उनको यो कम्पनीले किसानलाई केवल बिउ मात्र दिँदैन, उत्पादित वस्तुको बजार समेत सुनिश्चित गरिदिने ‘बिजनेस डेभलपमेन्ट सर्भिस’ प्रदान गर्दै आएको छ।
किन राजनीतिमा? स्याङ्जा-१ को नयाँ आशा
व्यवसायमा सफल व्यक्ति किन राजनीतिमा आउनुपर्यो? यो प्रश्नको उत्तरमा ढकाल भन्नुहुन्छ— “नीति बनाउने ठाउँमा सही मान्छे नपुगेसम्म व्यक्तिगत प्रयासले मात्रै देशको मुहार फेर्न सकिँदैन।”
उहाँका मुख्य एजेन्डाहरू यस प्रकार छन्:
१. कृषि-पर्यटन र रोजगारी: स्याङ्जालाई कृषि र पर्यटनको हब बनाएर स्थानीय स्तरमै हजारौँ युवालाई रोजगारी दिने।
२. वित्तीय पहुँच र उद्यमशीलता: मुक्तिनाथ बैंकको सफल मोडेललाई नीतिगत रूपमै देशव्यापी बनाई हरेक नागरिकलाई उद्यमी बनाउने।
३. दिगो पूर्वाधार: ठेक्कापट्टाको राजनीतिभन्दा माथि उठेर गुणस्तरीय र समयसापेक्ष भौतिक पूर्वाधारको निर्माण।
चुनौती र सम्भावना
स्याङ्जा-१ मा ढकालको उम्मेदवारीले परम्परागत राजनीति गर्नेहरूलाई दबाब दिएको छ। एकातिर उनको ‘क्लिन इमेज’ (स्वच्छ छवि) छ भने अर्कोतिर उनले हजारौँ परिवारलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारी र वित्तीय लाभ पुर्याएका छन्। मुक्तिनाथ विकास बैंक र कृषि कम्पनीका ८३६ भन्दा बढी विज्ञ प्रबर्द्धकहरूको साथ र उनको व्यवस्थापकीय खुबीले यसपटक स्याङ्जाको चुनाव निकै रोचक हुने देखिएको छ।
राजनीतिलाई केवल शक्ति आर्जनको माध्यम नभई ‘समाज सेवा र व्यवस्थापन’ का रूपमा बुझ्ने भरत राज ढकालको यो कदमले नेपालको राजनीतिमा नयाँ र प्राविधिक दक्ष जनशक्तिको आवश्यकतालाई पुष्टि गरेको छ।






