EN

नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो दृश्य मञ्चन भइरहेको छ, जहाँ पर्दा अगाडिका पात्रहरू भन्दा पर्दा पछाडिका रणनीतिकारहरू बढी शक्तिशाली देखिएका छन्। देश अस्थिरताको भुमरीमा फसेका बेला काठमाडौं महानगरका मेयर बालेन शाहलाई ‘अन्तरिम प्रधानमन्त्री’ बनाउनुपर्ने कान्तिपुरको त्यो ऐतिहासिक विशेष सम्पादकीय केवल एउटा सुझाव मात्र थिएन, बरु त्यो त एउटा नयाँ सत्ता समीकरणको बिजारोपण थियो। तत्कालीन समयमा जब देशमा शासनको शून्यता महसुस गरिएको थियो र स्वयम् कान्तिपुर मिडिया हाउस संकटको भुमरीमा थियो, त्यही विन्दुबाट बालेन र कान्तिपुरबीचको सम्बन्धले नयाँ उचाइ लिएको देखिन्छ। बालेनको प्रारम्भिक मौनता र पछि कैलाश सिरोहियाका छोरा सम्भव सिरोहियासँगको बढ्दो सामीप्यताले राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत गरेको छ, जसले स्थापित दलहरू मात्र होइन, भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पनि ठूलो हलचल पैदा गरिदिएको छ।

बिज्ञापन

यो कथाको सबैभन्दा नाटकीय मोड भनेको रास्वपामा सम्भव सिरोहियाको प्रवेश र त्यसले सिर्जना गरेको ‘लामिछाने ट्वीस्ट’ हो। हिजो कैलाश सिरोहियालाई नागरिकता प्रकरणमा हिरासतमा राख्ने कुशलता देखाएका रवि लामिछाने आज आफ्नै राजनीतिक अस्तित्व बचाउन तिनै सिरोहियाका छोरालाई पार्टीमा स्वागत गर्न विवश छन्। बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा स्वीकार्न रवि तयार हुनु पछाडिको मुख्य कारण उनको उदारता नभई, विभिन्न अदालतमा विचाराधीन रहेका मुद्दाहरू र सम्भावित कानुनी घेराबन्दीबाट बच्ने एउटा सुरक्षा कवचको खोजी हो। सुदन गुरुङ जस्ता पात्रहरूको सक्रियता र सबै शक्तिहरू एकजुट नभए जेल जानुपर्ने भयले रास्वपाको आन्तरिक लोकतन्त्रलाई भन्दा रणनीतिक स्वार्थलाई बढी प्रश्रय दिएको देखिन्छ। यस खेलमा बालेनलाई मुलधारको मिडियाको पूर्ण समर्थन प्राप्त हुने र रास्वपाले कान्तिपुर जस्तो ठूलो मिडिया हाउसको सुरक्षा पाउने एउटा अघोषित लेनदेनको गन्ध आउन थालेको छ।

बिज्ञापन

अन्ततः, यो नयाँ शक्ति समीकरणले रास्वपाका संस्थापक रवि लामिछानेलाई भने गम्भीर संकटको मोडमा उभ्याएको छ। कान्तिपुरले बालेनका पक्षमा लेखेका लामा आलेखहरू र मेयरका रूपमा शृंखला खतिवडालाई अघि सार्ने सम्भावित तयारीले अबको राजनीतिक बागडोर रविको हातबाट फुत्किन लागेको त होइन भन्ने प्रश्न उब्जाएको छ। अदालतको बन्देज र आफ्नै कानुनी झमेलामा फसेका रविले चुनावी मैदानमा जनताका मुद्दा भन्दा आफ्नै बचाउमा बढी समय खर्चिनुपर्ने बाध्यता छ। यदि यो समीकरण यसरी नै अघि बढ्ने हो भने, निकै उत्साहका साथ वैकल्पिक राजनीतिको जग बसालेका रविको राजनीतिक यात्रा एउटा दुखद मोडमा पुगेर टुङ्गिने जोखिम देखिन्छ। बालेन र कान्तिपुरको यो ‘इन्ट्री’ले रास्वपालाई शक्ति त प्रदान गर्ला, तर यसका वास्तविक जन्मदाता रविको भूमिका भने इतिहासको एउटा धुमिल पानामा सीमित हुने खतरा बढेर गएको छ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च