स्याङ्जा | २०८२ फागुन ११
बिज्ञापन
स्याङ्जाको हरिनास गाउँपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर मापन र शिक्षण पद्धतिमा सुधार ल्याउने उद्देश्यका साथ शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाले विशेष स्थलगत अनुगमन सम्पन्न गरेको छ। शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यको नेतृत्वमा रहेको एक उच्चस्तरीय प्राविधिक टोलीले हरिनासका विभिन्न चारवटा विद्यालयहरूको भ्रमण गरी त्यहाँको वस्तुस्थितिको सूक्ष्म अध्ययन गरेको हो।
बिज्ञापन
अनुगमन टोलीमा इकाई प्रमुख आचार्यका साथमा शाखा अधिकृतहरू हेम प्रसाद रिजाल र सुरेश सुवेदी रहनुभएको थियो। त्यसैगरी, शिक्षण सिकाइको प्राविधिक पक्षलाई निखार्नका लागि अंग्रेजी विषयविज्ञ गोपाल प्रसाद लम्साल र गणित विषयविज्ञ राजु रिजालको समेत उपस्थिति रहेको थियो। टोलीले हरिनास अन्तर्गतका श्री महिमा माध्यमिक विद्यालय, श्री मातृभूमि माध्यमिक विद्यालय, श्री आधारभूत माध्यमिक विद्यालय र श्री भोज प्रकाश माध्यमिक विद्यालयमा पुगी त्यहाँको शैक्षिक वातावरणको मूल्याङ्कन गरेको छ।
अनुगमनको क्रममा टोलीले कक्षाकोठाभित्रै पुगेर शिक्षकहरूले अपनाएका शिक्षण विधि, विद्यार्थीहरूको सहभागिता र शैक्षिक सामग्रीको प्रयोगको प्रत्यक्ष अवलोकन गरेको थियो। विशेषगरी अंग्रेजी र गणित जस्ता कठिन मानिने विषयहरूमा विषयविज्ञहरूले शिक्षकहरूलाई आधुनिक शिक्षण कौशल, विद्यार्थी केन्द्रित क्रियाकलाप र सिकाइका अवरोधहरू हटाउने उपायका बारेमा पेसागत सहयोग र परामर्श प्रदान गर्नुभएको थियो। शिक्षकहरूले कक्षा कोठामा भोग्नुपरेका व्यावहारिक कठिनाइहरूका बारेमा पनि टोलीले घनीभूत छलफल गरी समाधानका उपायहरू सुझाएको छ।
बिज्ञापन
शिक्षण सिकाइका अतिरिक्त टोलीले विद्यालयको प्रशासनिक र व्यवस्थापकीय पक्षमा समेत विशेष चासो राखेको थियो। विद्यालयको अभिलेख व्यवस्थापन, आर्थिक पारदर्शिता, भौतिक पूर्वाधारको अवस्था र विद्यालय व्यवस्थापन समितिको सक्रियताका बारेमा प्रधानाध्यापक र सरोकारवालाहरूसँग बृहत् छलफल गरिएको थियो। छलफलका क्रममा इकाई प्रमुख विश्वराज आचार्यले विद्यालयको सर्वाङ्गीण विकासका लागि केवल भौतिक संरचना मात्र नभई प्रशासनिक चुस्तता र शिक्षणको गुणस्तरमा एकरूपता हुनुपर्नेमा जोड दिनुभयो।
टोलीले अनुगमनपश्चात् विद्यालय प्रशासन र शिक्षकहरूलाई समग्र विद्यालयको शैक्षिक वातावरण सुधार्नका लागि आवश्यक मार्गनिर्देशन समेत प्रदान गरेको छ। स्थानीय तह र शिक्षा इकाईबीचको समन्वयलाई अझ बलियो बनाउँदै ग्रामीण भेगका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउन यस्ता अनुगमन र सुझाव कार्यक्रमहरू कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ।







