नेपाली राजनीतिका चतुर खेलाडी पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी पाँच वर्षका लागि संसद् र सत्ताको केन्द्रमा एक्लो बलियो पात्रका रूपमा उदाउने सम्भावना देखिएको छ। चर्चित विश्लेषक नारायण गाउँलेको पछिल्लो टिप्पणीअनुसार, वर्तमान ‘त्रिमूर्ति’ मध्ये शेरबहादुर देउवा र केपी शर्मा ओलीका लागि पछिल्लो समय गगन थापा र बालेन शाहजस्ता नयाँ शक्तिहरू ठूलो चुनौतीका रूपमा देखा परेका छन्। यसले देउवा र ओलीको राजनीतिक भविष्यमा केही अन्योल थपे पनि प्रचण्ड भने तुलनात्मक रूपमा सुरक्षित र निर्णायक देखिन्छन्।
बिज्ञापन
देउवा र ओलीलाई चुनौती, प्रचण्डलाई अवसर
राजनीतिक जीवनको उत्तरार्द्धमा रहेका नेपाली कांग्रेसका पुर्व सभापति देउवा र एमाले अध्यक्ष ओली यतिबेला जनस्तरको व्यापक असन्तुष्टिको केन्द्रमा छन्। देउवाका लागि पार्टीभित्रै गगन थापा र ओलीका लागि बाहिरबाट बालेन शाहको उदय ‘काउछो’ जस्तै बनेको विश्लेषण गरिएको छ। तर, प्रचण्ड भने यतिबेला ‘लो प्रोफाइल’ मा बसेर आगामी सत्ताको साँचो कसरी आफ्नो हातमा लिने भन्ने रणनीतिमा व्यस्त देखिन्छन्।
बिज्ञापन
सत्ताको साँचो र चतुर रणनीति
प्रचण्डको सबल पक्ष उनको अत्यधिक लचकता र परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्ने क्षमता हो। कुनै पनि पार्टीको एकल बहुमत नआउने अवस्थामा प्रचण्ड नै सत्ता समीकरणका निर्णायक पात्र बन्ने निश्चित प्राय: छ। यसअघि रास्वपा र राप्रपाजस्ता फरक धारका दलहरूले मात्र होइन, कांग्रेस र एमालेले समेत उनलाई स्वीकार गरिसकेकाले आगामी निर्वाचनपछि रास्वपा र नेकपाको नयाँ समीकरण बन्ने सम्भावनालाई नकार्न सकिँदैन।
‘डायनामिक’ नेताको छवि र राजनीतिक केन्द्र
प्रचण्डलाई केवल कार्यकर्ताको प्रशंसा सुन्ने नेताका रूपमा मात्र नभई, आफ्नो शक्ति र कमजोरीलाई राम्रोसँग बुझेर सुरक्षित आश्रय खोज्न सक्ने ‘डायनामिक’ नेताका रूपमा हेरिएको छ। निर्वाचनअघि माओवादी शक्ति कमजोर भएको चर्चा भए पनि निर्वाचनपछि सधैं निर्णायक शक्तिका रूपमा उदय हुनु उनको विशेषता बनेको छ। तेस्रो दल भएर पनि एमाले र कांग्रेसलाई पालैपालो घुमाउन सफल प्रचण्ड, अहिले पनि जनआक्रोशको केन्द्रमा नभई राजनीतिको मुख्य केन्द्रमा विराजमान छन्।
बिज्ञापन
पुरानो पुस्ताको एकल हकदार
स्वभावतः धेरै शत्रु नबनाउने छविका कारण प्रचण्ड आगामी निर्वाचनपछि पुरानो पुस्ताको एक्लो प्रभावशाली ‘वारिस’ का रूपमा बाँकी रहने विश्लेषण गरिएको छ। पुराना दलहरू विरुद्धको असन्तुष्टि ओली र देउवातिर बढी लक्षित हुँदा प्रचण्डले त्यसको लाभ उठाउँदै आफ्नो राजनीतिक यात्रालाई अझै केही वर्ष सुरक्षित राख्ने देखिन्छ।






