EN

इरानले आफ्नो परमाणु कार्यक्रमसम्बन्धी विवाद समाधान गर्न अमेरिकासँग ‘मुख्य मार्गनिर्देशक सिद्धान्त’मा समझदारी भएको जनाएको छ । स्वीट्जरल्यान्डको जेनेभामा भएको अप्रत्यक्ष वार्तापछि इरानका विदेशमन्त्री अब्बास अराघ्चीले अझै प्राविधिक विषयमा थप काम बाँकी रहेको बताए । अमेरिकाले पनि वार्तामा ‘प्रगति भएको’ स्वीकार गरेको बीबीसीले जनाएको छ ।

बिज्ञापन

मध्यस्थकर्ता ओमानका विदेशमन्त्रीले दुवै पक्ष साझा लक्ष्य र प्राविधिक मुद्दा पहिचान गर्न सकारात्मक प्रगति भएको बताए । वार्ता ओमानका राजदूत निवासमा सम्पन्न भएको थियो ।

बिज्ञापन

अमेरिका र उसका युरोपेली सहयोगीहरूले इरान परमाणु हतियारतर्फ उन्मुख भएको आशंका गर्दै आएका छन्, तर तेहरानले यसलाई अस्वीकार गर्दै आएको छ । वार्तामा इरानले आफ्नो परमाणु कार्यक्रम र अमेरिकी आर्थिक प्रतिबन्ध हटाउने विषयमा ध्यान केन्द्रित गरेको जनाएको थियो, जबकि वाशिङ्टनले क्षेप्यास्त्र विकासलगायत अन्य मुद्दा पनि उठाउन चाहेको संकेत दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तालाई ‘अत्यन्त महत्त्वपूर्ण’ भन्दै सम्झौता नभए परिणाम गम्भीर हुने चेतावनी दिएका छन् । उनले गत वर्ष अमेरिकी बी– २ बमवर्षकमार्फत इरानी परमाणु केन्द्रमा आक्रमण गरिएको प्रसंग पनि स्मरण गराए ।

बिज्ञापन

यसैबीच, अमेरिकाले मध्यपूर्वमा सैन्य उपस्थिति बढाएको छ । उपग्रह तस्वीरले अमेरिकी विमानवाहक पोत यूएसएस अब्राहम लिंकन इराननजिक रहेको पुष्टि गरेको छ । साथै, विश्वकै ठूलो युद्धपोत यूएसएस जेराल्ड आर. फोर्ड पनि क्षेत्रमा पठाइएको बताइएको छ ।

 

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकी सैन्य धम्कीको जवाफ दिँदै चेतावनीपूर्ण अभिव्यक्ति दिएका छन् । उनले वार्ताको नतिजा पूर्वनिर्धारित गर्न खोज्नु ‘गलत र मूर्खतापूर्ण’ हुने टिप्पणी गरे ।

अमेरिकी विदेशमन्त्री मार्को रुविओले इरानसँग सम्झौता गर्न ‘अत्यन्त कठिन’ हुने बताए पनि कूटनीतिक समाधानको सम्भावना रहेको उल्लेख गरे । यसअघि यसै वर्ष ओमानमा भएको पहिलो अप्रत्यक्ष वार्तालाई इरानले ‘राम्रो सुरुआत’ भनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च