प्लेनमा यात्रा गर्दा खानेकुरा खानुभएको छ ? सम्झनुहोस् त स्वाद कस्तो थियो ? तपाईं आफैँले खानुभएको छैन भने पनि अरुले भनेको सुन्नुभएको होला, प्लेनमा दिइने खानेकुरा त कस्तो नमीठो हुन्छ ।
बिज्ञापन
किन होला त ?
बिज्ञापन
के प्लेनमा दिइने खाने कुरा नै नमीठो हुन्छ कि यसको अरु कुनै कारण होला ? आउनुहोस्, यसबारेमा चर्चा गरौँ:
हो, तपाईंले अहिलेसम्म भोगेको वा सुनेको पहिलो कुरा प्लेनमा खाएको खानेकुरा साह्रै बेस्वादको थियो भन्ने कुरा सत्य हो । तर, एयरलाइन्स कम्पनीहरूले सधैँ स्वादै नभएको खानेकुरा दिएकाले स्वाद नभएको भने होइन ।
बिज्ञापन
त्यसो भए होचाहिँ के त ?
तपाईंलाई झट्ट सुन्दा पत्यार नलाग्न सक्छ तर उडिरहेको प्लेनमा हाम्रो जिब्रोको स्वाद र नाकको सुघ्ने क्षमता नै कम हुन्छ । त्यसैले जमिनमा स्वादिलो लागेका खानेकुराहरू प्लेनभित्र नमीठो लाग्छ । यसो भनिरहँदा नेपालमा त डोमेस्टिक यात्रामा खानेकुरा नै दिँदैनन् भन्ने पनि तपाईंलाई लाग्न सक्छ ।
तर, यदि खानेकुरा दिइनै हाले पनि छोटो दूरी र कम उचाइमा उड्ने प्लेनहरूमा भने खानाको स्वादमा त्यति ठूलो भिन्नता महसुस नहुन सक्छ । तर, लामो दूरीका ३० देखि ४० हजार फिटको उचाइमा उड्ने प्लेनमा भने खानेकुराको स्वाद जमिनमा भन्दा निकै कम पाइन्छ ।
विभिन्न अध्ययनहरूका अनुसार जहाज ३० हजार फिटमाथि पुग्दा मानिसको स्वाद र सुघ्ने क्षमतामा सबैभन्दा कम हुन्छ । जमिनमा छदा स्वादिलो लागेका खानेकुराहरू जहाजले जतिजति उचाइ लिँदै जान्छ, त्यतित्यति स्वाद हराउँदै जान्छ ।
किन त ?
यसका पछाडि अनेक कारणहरू छन् । प्लेनको संरचनाबारे त तपाईंले याद गर्नुभएकै होला । गुड्ने बसको भन्दा प्लेनको झ्याल, ढोका निकै फरक हुन्छ ।
उडिरहेको प्लेनमा यात्रुलाई सास फेर्न ताजा हावा चाहिन्छ । यसका लागि जहाजले बाहिरको चिसो र सुक्खा हावालाई भित्र तान्छ, त्यसलाई तताउँछ र फिल्टर गरेर क्याबिनमा पठाउँछ । यो प्रक्रियामा हावा तातो त हुन्छ, तर त्यसमा ओस थपिने कुनै प्राकृतिक स्रोत हुँदैन । जहाजको इन्जिनले बाहिरबाट तान्ने हावामा पानीको मात्रा शून्यजस्तै हुन्छ । किनकी जहाज उड्ने उचाइमा तापक्रम नै अत्यधिक कम हुन्छ ।
यस्ता विविध कारणले प्लेनभित्रको हावा सहारा मरुभूमिको भन्दा पनि निकै सुख्खा हुने गर्छ । हावा सुक्खा हुँदा हाम्रो नाक पनि सुक्खा हुन्छ । सुक्खा हुँदा हाम्रो नाकको सुँघ्ने शक्ति पनि कम हुने विभिन्न अध्ययनहरूले नै प्रमाणित गरेका छन् ।
तर, तपाईंलाई थाहा छ, हामीले धेरैजसो खानेकुराको स्वाद पाउने भनेको सुँघेरै हो । त्यसैले सुँघ्ने शक्ति नै कम हुँदा हाम्रो जिब्रोले स्वाद पनि कम थाहा पाउने गर्छ ।
अर्को रोचक कुरा भनेको उचाइमा हाम्रो जिब्रोले नुन र चिनीको स्वाद जमिनमा छँदा भन्दा निकै कम मात्रै थाहा पाउँछ । जबजब जहाज उचाइमा पुग्छ तब तब हाम्रो जिब्रोले नुन र चिनीको स्वाद पनि कम कम पाउँदै जाने गर्छ । जिब्रोको संवेदनशीलता नै घट्दा जमिनमा मीठो लागेको खानेकुरा पनि प्लेनमा नमीठो लाग्ने गर्छ ।
अर्को कुरा भनेको प्लेनभित्र इन्जिनको आवाजका कारण पनि यात्रुहरूले खानाको स्वादमा भिन्नता महसुस गर्ने गरेको पाइन्छ । प्लेनको इन्जिनको ठूलो आवाजले गर्दा हाम्रो दिमागले खानाको स्वादमा राम्ररी ध्यान दिन नसक्दा स्वाद पनि कम हुने बताइन्छ ।
अध्ययनका अनुसार उडिरहेको प्लेनमा मात्रै होइन, जमिनमै पनि ठूलो होहल्ला भएको ठाउँमा मानिसहरूले खानेकुराको स्वाद तुलनात्मक रूपमा कम पाउने गर्छन् ।
खानेकुरा मीठो बनाउन के गर्छन् त एयरलाइन्सले ?
काइदाको कुरा के छ भने स्वादका लागि एयरलाइन्स कम्पनीहरूले प्लेनमा दिइने खानेकुरामा जमिनको तुलनामा मसला र नुन बढी हाल्ने गर्छन् ।
खानेकुराहरूमा टमाटर, प्याज र यस्तै कडा स्वाद भएका सामग्रीहरूको बढी प्रयोग गर्ने गरिन्छ । किनकि टमाटर, चाउचाउजस्ता खानेकुरा जमिनमाभन्दा उचाइमा अझ बढी स्वादिलो हुने गर्छन् ।
कतिपय एयरलाइन्स कम्पनीहरूले त स्वादका लागि खानेकुरा खादा यात्रुलाई हेडफोन लगाउनसमेत सुझाव दिने गर्छन् ।
कहिले र कसरी दिन थालियो प्लेनमा खानेकुरा ?
हवाई उडानको इतिहासमा सबैभन्दा पहिला सन् १९१९ मा लन्डनबाट पेरिसका लागि उडेको ह्यान्ड्ली पेज ट्रान्सपोर्ट नामक जहाजमा प्रि–प्याक लन्चबक्स दिइएको थियो ।
लन्चबक्सभित्र स्यान्डविच, मासु र फलफूल थियो । कतिपयले भने प्लेनमा खाने कुरा सन् १९१८ देखि नै दिन थालिएको हो भनेर दाबी गरेको तथ्य पनि पाइन्छ ।
यसको चार वर्षपछि डायमलर एयरवेजले यात्रुहरूलाई स्वागत स्वरुप फलफूलको जुस दिएको छ । सन् १९३६ मा वर्ल्ड फस्ट फ्लाइट किचेन भनेर युनाइटेड एयरलाइन्सले जहाजमा दिइने खानेकुरा बनाउनका लागि भनेर छुट्टै किचेनको व्यवस्था गर्यो । एयरलाइन्सले उचाइका कारण खानाको स्वादमा पर्ने असरलाई समेत ध्यान दिएर खाना बनाउने गर्थ्यो । यसका लागि एयरलाइन्सले छुट्टै कुकको व्यवस्थासमेत गरेको थियो ।
सन् १९५० देखि १९६० को दशकलाई एयरलाइन्स फुडको गोल्डेन एज मानिन्छ । यो समयमा एयरलाइन्सहरूले प्लेनभित्र विभिन्न ब्रान्डका रक्सीदेखि स्तरीय खाना दिन्थे । कतिपय एयरलाइन्सहरूले त यात्रुहरूलाई रेस्टुरेन्टमा जस्तै गरी सेतो कपडा बिछ्याएर तातो खाना दिन्थे भने महँगो रक्सीसमेत सर्भ गर्थे ।
सन् १९७० को दशकपछि भने इकोनोमिक अर्थात् कम शुल्कमै उडान भर्ने जहाजहरू आए । त्यसपछि बिस्तारै यात्रुलाई दिइने खानेकुराहरू पनि स्यान्डविच, पिनट्सजस्ता कुरामा झर्यो । र, अर्को कुरा भनेको एयरलाइन्सहरूले हवाई यात्रामा यात्रुले खानेकुरा किनेर खान पाउने सिस्टम लागू गर्दै गए ।
अहिले एयरलाइन्सहरूले क्लासअनुसार खानेकुरा सर्भ गर्छन् । कतिपय एयरलाइन्स कम्पनीहरूले प्रख्यात कुकहरूसँग सहकार्य गरेर आफ्नो खानेकुराको मेन्यु बनाउँछन् ।
कोरोना महामारीअघिसम्म नेपालमा पनि डोमेस्टिक एयरलाइन्सहरूले पानी, चकलेट, बदामलगायतका खानेकुरा दिन्थे । तर, कोरोना महामारीको बेला सुरक्षाका कारण भन्दै यो सुविधा रोके ।
पछिल्लो समय केही एयरलाइन्सले पुनः यात्रुलाई बदाम, जुसलगायतका खानेकुरा दिन थालेका छन् भने केहीले अहिले पनि रोकिराखेका छन् ।
प्रकाशित मिति: शनिबार, फागुन २, २०८२ ११:५३






