अर्जुन कुमार बिष्ट रुकुमकोट, रुकुम पूर्व
बिज्ञापन
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट रुकुम पूर्वका उम्मेदवार सन्दीप पुनले आफ्नो चुनावी कार्ययोजना–पत्र सार्वजनिक गर्नुभएको छ। मङ्गलबार जिल्लाको सिस्ने गाउँपालिका–५ स्थित पर्यटकीयस्थल कमल दह परिसरमा आयोजित एक कार्यक्रमका बीच पुनले आफ्नो विकासको खाका र प्रतिबद्धताहरू बाहिर ल्याउनुभएको हो।
बिज्ञापन
पुनको कार्ययोजनामा सबैभन्दा रोचक र प्राथमिक विषय ‘जनतासामु सत्य बोल्ने’ कुरालाई बनाइएको छ। राजनीति केवल भाषणका लागि मात्र नभई जनताको पीडा बुझेर समाधान गर्ने माध्यम हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ। जनप्रतिनिधिले झुटा आश्वासन बाँड्ने परम्पराको अन्त्य गर्दै जनताको प्रत्यक्ष निगरानीमा काम गर्ने विधिको विकास गर्ने प्रतिबद्धता उहाँको कार्ययोजनामा उल्लेख छ।
भौतिक पूर्वाधारतर्फ जिल्लाको दुर्गमता अन्त्य गर्न सडक सञ्जालको विस्तार र स्तरोन्नतिलाई उम्मेदवार पुनले दोस्रो प्राथमिकतामा राख्नुभएको छ। उहाँले राष्ट्रिय लोकमार्गलाई पूर्णता दिने, हाल सञ्चालनमा रहेका सडकहरूको स्तरोन्नति गर्ने तथा आवश्यक स्थानमा झोलुङ्गे र सडक पुल निर्माण गर्ने योजना अघि सार्नुभएको छ। ऊर्जा, कृषि, वन, खानी, उद्योग, युवा नीति, शिक्षा, स्वास्थ्य र पर्यटनजस्ता क्षेत्रलाई पनि उहाँले विशेष महत्वका साथ समेट्नुभएको छ।
बिज्ञापन
शहीद पुत्रसमेत रहनुभएका पुन आगामी फागुन २१ गते हुने निर्वाचनमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध चुनावी मैदानमा हुनुहुन्छ। सुशासन, सामाजिक न्याय र प्रविधिको विकासलाई आफ्नो वैचारिक प्रतिबद्धताको मुख्य खम्बा मान्नुभएका पुनले जनयुद्धका शहीद परिवार, घाइते तथा बेपत्ता परिवारको भावना आफूले मात्रै प्रतिनिधित्व गर्न सक्ने दाबी गर्नुभयो।
प्रलोपाका केन्द्रीय सदस्य विजय केसीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पुनले आफ्नो जित निश्चित रहेको बताउनुभयो। जिल्लावासीले आफ्नै माटोको उम्मेदवार खोजिरहेको र आफू सबै हिसाबले योग्य रहेको भन्दै उहाँले परिवर्तनका लागि आफ्नो उम्मेदवारी अपरिहार्य रहेको जिकिर गर्नुभयो।






