रुकुम पश्चिम माघ २१, २०८२
बिज्ञापन
आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ रुकुम पश्चिममा निर्वाचन आचारसंहिता कार्यान्वयनमा निकै कडाइ गरिएको छ। जिल्लाका निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले आज एक विशेष प्रेस नोट जारी गर्दै निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालनाका लागि जिल्लास्थित सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज र आम सर्वसाधारणमा सार्वजनिक अपिल गर्नुभएको हो। निर्वाचनलाई केवल एउटा प्रक्रियाको रूपमा मात्र नभई एउटा जिम्मेवार दायित्वको रूपमा लिन आग्रह गर्दै प्रशासनले यसपटक आचारसंहिता उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने संकेत दिएको छ।
बिज्ञापन
प्रेस नोटमा उल्लेख भए अनुसार, निर्वाचन आचारसंहिताको दफा १३ ले तोकेको मापदण्ड भन्दा बाहिर गएर कुनै पनि प्रचारप्रसारका गतिविधिहरू गर्न पाइने छैन। विशेषगरी सार्वजनिक सम्पत्तिको संरक्षण र सौन्दर्यलाई ध्यानमा राख्दै कसैको निजी घर, जग्गा, सार्वजनिक भवन, उद्यान, सडकका भित्ता वा पोलहरूमा दलको झण्डा वा निर्वाचन चिन्ह टाँस्न पूर्ण रूपमा रोक लगाइएको छ। त्यसैगरी, भित्ते लेखन, पोस्टर, तुल र डिजिटल डिस्प्ले जस्ता सामग्रीहरू प्रयोग गरी वातावरण प्रदूषित गर्ने कार्यलाई समेत निषेध गरिएको छ। उम्मेदवारले आफ्नो कार्यालयमा तोकिएको साइजको झण्डा र चिन्ह राख्न पाए पनि अन्य सार्वजनिक स्थानमा यस्ता सामग्री प्रदर्शन गरेमा त्यसलाई आचारसंहिताको गम्भीर उल्लंघन मानिनेछ।
प्रचारप्रसारको शैलीलाई मर्यादित बनाउनका लागि घरदैलो कार्यक्रममा समेत संख्यात्मक सीमा तोकिएको छ। उम्मेदवारले आफ्नो चुनावी प्रचारका लागि निस्कँदा समर्थक र प्रस्तावकसहित २५ जनाभन्दा बढीको जुलुस वा झाँकी लैजान पाउने छैनन्। यसका साथै, प्रचारमा संलग्न हुने व्यक्तिहरूले दलको चिन्ह अंकित टोपी, टिसर्ट, मास्क, गम्छा, लकेट वा झोला जस्ता साङ्केतिक वस्तुहरू प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ। कुनै पनि प्रकारको जुलुस वा सभा गर्नुभन्दा २४ घण्टा अगावै स्थानीय प्रशासनको अनुमति लिनु अनिवार्य गरिएको छ भने फागुन ४ गतेभन्दा अगाडि कुनै पनि प्रकारका चुनावी सभा वा सञ्चार माध्यमबाट प्रचार सामग्री प्रसारण गर्न पाइने छैन।
बिज्ञापन
आर्थिक चलखेल र प्रलोभनलाई रोक्नका लागि प्रशासनले धार्मिक संस्था, आमा समूह र गैरसरकारी संस्थाहरूलाई कुनै पनि प्रकारको अनुदान, आर्थिक सहायता वा पुरस्कार दिने घोषणा गर्न र वितरण गर्न कडा प्रतिबन्ध लगाएको छ। ज्येष्ठ नागरिक, महिला र अल्पसंख्यक समुदायको सम्मानमा आँच आउने खालका कुनै पनि प्रचार गतिविधि नगर्न सचेत गराउँदै प्रशासनले विदेशी नम्बर प्लेटका सवारी साधनलाई चुनावी प्रचारमा प्रयोग गर्न नदिइने स्पष्ट पारेको छ। यदि यी नियमहरूको उल्लंघन भएको पाइएमा निर्वाचन आचारसंहिताको दफा ४८ आकर्षित भई सम्बन्धित उम्मेदवारको उम्मेदवारी नै रद्द हुन सक्ने कानुनी प्रावधान रहेकोले सबैलाई सचेत रहन अनुगमन अधिकृत ओलीले स्मरण गराउनुभएको छ।






