वीरगञ्ज । देशका अन्य ठाउँमा जस्तै पर्सा क्षेत्र नम्बर ४ मा चुनावी रौनक बढिरहेको छ । उम्मेदवारहरू आफ्नो निर्वाचन क्षेत्रको टोल-टोलमा पुगेर मतदाता रिझाउन प्रयास गरिरहेका छन् । मतदाताहरू भने विभिन्न समस्या समाधानदेखि विकास निर्माणमा ध्यान नदिएको भन्दै आक्रोश पोखिरहेका छन् ।
बिज्ञापन
पर्साको ठोरी गाउँपालिका–५ की कान्छीमाया लामा अघिल्ला निर्वाचनमा जितेर गएकाहरूले केही नगरेकाले यसपटक सोचेर मतदान गर्ने बताउँछिन् । ‘ठोरी गाउँपालिकामा सबैभन्दा बढी पिउने पानीको समस्या छ, कृषिका लागि बोरिङ छैन । यो धेरै पहिलादेखिको समस्या हो, जुन अहिलेसम्म समाधान भएको छैन,’ उनी भन्छिन् ।
बिज्ञापन
चुनाव आउँदा नेता आउने तर जितेर गएपछि पाँच वर्ष बेपत्ता हुने गरेको उनको गुनासो छ । त्यसकारण यस क्षेत्रमा अस्पताल, खानेपानी र रोजगारीको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको उनी बताउँछिन् ।
‘हामीलाई चाहिएको छ पिउने पानी, कृषिका लागि बोरिङ, तर पुराना दलका नेताहरुले लोकतन्त्रको गाथा सुनाइरहेका छन् । जनताको समस्यातर्फ ध्यान दिने नेता यो क्षेत्रमा चाहिएको छ,’ उनी भन्छिन् ।
बिज्ञापन
सुवर्णपुरका बाबुराम बुढाथोकी यसपटक नयाँ दललाई मत दिने मनस्थितिमा छन् । पहिले कांग्रेस, एमाले र माओवादी तीनवटै पार्टीलाई मत दिइसकेको भएपनि आफ्नो ठाउँका लागि केही नगरेकाले यसपालि वैकल्पिक शक्तिलाई रोज्ने उनी बताउँछन् ।
‘पुराना दलका उम्मेदवारहरू अहिले आएर सच्चिन मौका मागिरहेका छन, तर त्यो अवस्था अब रहँदैन,’ उनी भन्छन् ।
जिराभवानी गाउँपालिका-१ का लालु यादवको पनि गुनासो उस्तै छ । यस क्षेत्रबाट पटक-पटक निर्वाचित भएर जानेहरूले गाउँमा कुनै काम नगरेकोमा उनको आक्रोश छ । ‘कृषिका लागि मल माग्दा पनि कसैले दिएनन्, किसानहरू आफैंले व्यवस्थापन गरे । सडक, खानेपानी, खेतीका लागि बोरिङ जस्ता कुरामा कुनै जनप्रतिनिधिले चासो देखाएनन्,’ उनी भन्छन् ।
जगरनाथपुर गाउँपालिकाको दलित बस्तीको समस्या झनै नाजुक छ । जगरनाथपुर गाउँपालिका–२ का राजेन्द्र राउत डोम अहिलेसम्म दलितका लागि कुनै पनि निर्वाचित प्रतिनिधिले केही पनि नगरेको बताउँछन् । ‘राहतका साम्रगी आउँदा होस् वा आवास निर्माण सवाल होस् । सबै विकासमा दलितलाई बेवास्ता गरिन्छ,’ उनी भन्छन् ।
डोम समुदायसँग बस्ने घर समेत छैन । पिउने पानीको समस्या पनि उस्तै छ । नेताहरूले दलित समुदायलाई आफ्नो भोट बैंक मात्र बनाइरहेको स्थानीयको गुनासो छ ।
धोबनी गाउँपालिकाका बासिन्दा गणेश साह यसपटक पुराना अनुहारसँग असन्तुष्ट देखिएका छन् । गाउँघरमा सडक निर्माणदेखि विद्यालय तथा कृषिका लागि चाहिने सामग्रीमा समेत उनीहरूले ध्यान नदिएको उनको गुनासो छ ।
पर्सा–४ मा २४ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट पूर्वमन्त्री रमेश रिजाल, एमालेबाट जालिम मिया मन्सुरी, रास्वपाबाट टेकबहादुर शाही, नेपाली कम्युनिस्ट पार्टीबाट जयप्रकाश थारु, जसपा नेपालबाट कृपा सिन्धु चौधरी, उज्यालो नेपाल पार्टीबाट विनोदप्रसाद यादव लगायत उम्मेदवार छन् ।
यो निर्वाचन क्षेत्रमा ठोरी, जिराभवानी, धोबनी, जगरनाथपुर, कालिकामाई र छिपहरमाई गाउँपालिका तथा पोखरिया र पकहामैनपुरका एक/एक वडा पर्छन् ।







