मुसिकोट, रुकुम पश्चिम कर्णाली प्रदेश समाचारदाता: अर्जुन कुमार विष्ट
बिज्ञापन
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ मा आजदेखि निःशुल्क एम्बुलेन्स सेवाको सुरुवात गरिएको छ। उदय युवा क्लबका अध्यक्ष एवं संयुक्त एम्बुलेन्स चालक संघ रुकुम पश्चिमका अध्यक्ष कृष्णकुमार ददेलले आफ्नो व्यक्तिगत तर्फबाट वडाबासी बिरामीहरुका लागि जिल्ला अस्पताल सल्लेसम्मको एकतर्फी सेवा निःशुल्क गर्नुभएको हो। सामाजिक सेवामा सक्रिय ददेलले आर्थिक अवस्था कमजोर भएका नागरिकको समस्यालाई मध्यनजर गर्दै यो उदाहरणीय कार्यको थालनी गर्नुभएको हो।
बिज्ञापन
वडा कार्यालय र अध्यक्ष ददेलबीच भएको सम्झौता अनुसार अबदेखि वडा नम्बर १३ भित्रका जेष्ठ नागरिक, प्रसुती व्यथा लागेका महिला र ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिहरूले जिल्ला अस्पताल जाँदा एम्बुलेन्स शुल्क तिर्नुपर्ने छैन। वडा अध्यक्ष खलबहादुर खड्काले जानकारी दिए अनुसार वडाका विभिन्न दुर्गम ठाउँबाट अस्पतालसम्म बिरामी पुर्याउन यो सेवाले ठूलो मद्दत गर्नेछ। वडा कार्यालयले ददेलको यो सामाजिक भावनाको कदर गर्दै उहाँलाई धन्यवाद समेत ज्ञापन गरेको छ।
आर्थिक रूपमा विपन्न परिवार र व्यक्तिहरूलाई थोरै भए पनि राहत पुगोस् भन्ने पवित्र उद्देश्यले आफूले यो सेवा प्रदान गरेको उदय युवा क्लबका अध्यक्ष ददेलले बताउनुभयो। उहाँले लामो समयदेखि सामाजिक कार्यमा आफूलाई समर्पित गर्दै आउनुभएको छ। गाउँमै निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध भएपछि मुसिकोट–१३ का स्थानीयबासीहरू निकै खुसी भएका छन् भने ददेलको यो कदमको जिल्लाभर प्रशंसा भइरहेको छ।







