मेचीनगरको काँकडभिट्टामा ‘कला साहित्य उत्सव २०७५’ आजदेखि शुरु भएको छ । रिडर्स झापाको आयोजनामा काँकडभिट्टा खानेपानी संस्थाको सभाहलमा कलाकारले गीत गाएर उत्सवको उद्घाटन गरे ।

मुलुकको साहित्य, कला, राजनीति र पत्रकारिताका विभिन्न आयामका बारेमा विद्वत प्रवचन र विमर्श हुने सो कार्यक्रमको पहिलो सत्रमा प्रसिद्ध विश्लेषक हरि शर्माले लोकतन्त्र र आलोचनात्मक चेत’का विषयमा प्रवचन दिएका छन् ।

उनले विचारको विविधता, प्रश्न र सङ्घर्षबाट नै लोकतन्त्र बलियो हुने धारणा व्यक्त गरे । दोस्रो सत्रमा साहित्यको दलन’ शीर्षकमा सामूहिक विमर्श गरिएको थियो ।

उर्गेनका घोडा र ‘माङ्गेना’ जस्ता चर्चित उपन्यासका लेखक युग पाठक, दलित अधिकारवादी साहित्यकार जेबी विश्वकर्मा र दार्जीलिङका भारतीय नेपाली साहित्यकार सुधीर क्षेत्रीले छलफलमा आ–आफ्ना धारणा राखेका थिए ।

उपन्यासकार पाठकले पाठ्यपुस्तक र साहित्यमा सद्भाव र समानताको जतिधेरै शब्द लेखिए पनि नेपाली समाजमा दलित एवं जातीय आधारमा हुने विभेद चर्को रुपमा रहेको दाबी गरे । दलित अधिकारकर्मी विश्वकर्माले लेखक विभेदकारी हुँदा उसको लेखनमा समेत विभेद झल्किने अनेक उदाहरण प्रस्तुत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय