काठमाडौं  । स्थानीय तह निर्वाचनको आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ। ३० वैशाख शुक्रबार हुने निर्वाचनमा केही मतदान केन्द्रमा बुथ निमार्णलगायतका काम बाहेक सबै व्यवस्थापन पुरा भएको निर्वाचन आयोगले जनाएको छ। बाँकी २ दिनमा मतदानस्थलमा बुथ निर्माणको काम सकिने जनाइएको छ।

निर्वाचन सुरक्षाका लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको गृहमन्त्रालयले जनाएको छ। मुलुकका ७५३ स्थानीय तहका लागि १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये दुई हजार ९४६ अति संवेदनशील र चार हजार ४२३ संवेदनशीलको सूचीमा छन् ।

स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८ अनुरूप निर्वाचन सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा तयारी तथा परिचालन कार्य सम्पन्न भएको प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए। सुरक्षाको पहिलो घेरामा म्यादीसहित नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना खटाइएको उनले बताए।

प्रवक्ता पोखरेलले भने, ‘‘निर्वाचन सुरक्षा व्यवस्था बलियो र प्रभावकारी पारिएको छ। स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार मतदान स्थल सुरक्षाका लागि तीन तहको सुरक्षा घेरा बनाइएको छ।’’

सुरक्षा निकायका कर्मचारीबाहेक अरू कर्मचारी ३ लाख बढी खटाइएको छ।

दिन सेनाले हवाई तथा पैदल गस्ती गर्ने भएको छ। अति संवेदनशील मतदान स्थलमा छ म्यादी पाँच प्रहरी गरी ११, संवेदनशीलमा पाँच म्यादी चार प्रहरी गरी नौ र अन्यमा चार म्यादी तीन प्रहरी गरी सात सुरक्षाकर्मी परिचालन गरिएको छ। थप मद्दतका लागि हतियारसहित नौदेखि ११ जना सशस्त्र प्रहरीको टोली रहनेछ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी निर्वाचन सुरक्षामा परिचालन भएसँगै यसअघि यी सुरक्षा निकायले सम्हाल्दै आएको महत्त्वपूर्ण स्थान, संरचना तथा सम्पदाको सुरक्षामा सेना खटाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय