‘महाधिवेशन सबैका लागि हो, मेरा लागि पनि हो । अब म राजनीतिमा फेरि सक्रिय हुन्छु र महाधिवेशनको तयारीमा जुट्छु,’ करिव डेढ वर्षसम्म सञ्चारमाध्यमबाट टाढा रहेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बुधबार पत्रकार सम्मेलनमा भने ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदारले आफ्नो सफाइ दिन पत्रकार सम्मेलन आयोजना गरेको भनिएपनि उनको निशाना भने कांग्रेस महाधिवेशनतर्फ थियो ।

 

आफूमाथि लागेको भ्रष्टाचारको आरोप महाधिवेशनमा मुद्धा बन्ने भयले उनले पत्रकार सम्मेलन नै गरेर आफूसँग राजनीतिक प्रतिशोध लिन मुद्दा लगाइएको जिकिर गरे ।

मंसिर ९–१३ मा निर्धारित १४ औं महाधिवेशनका लागि कांग्रेसभित्र विभिन्न पदमा उम्मेदवारी घोषणाको होडवाजी चलिरहेका बेला गच्छदारले पनि लामो मौनता तोड्दै महाधिवेशनमा आफू केन्द्रित हुने सन्देश दिए ।

सभापति पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका गच्छदारले समय आएपछि आफ्नो उम्मेदवारी घोषणा गर्ने प्रष्ट पारे । ‘मेरो सभापतिमा प्रतिस्पर्धा हुँदैन, भविष्यमा पनि यो सोच छैन,’ उनले भने, ‘अरु पदमा उम्मेदवारी दिनेबारे समय आएपछि सार्वजनिक गर्छु ।’

कांग्रेसमा दुई दशकअघि एउटा समूह चर्चित थियो, ‘एकेजीबी’ । एकेजीवी अर्थात् अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजयकुमार गच्छदार । कांग्रेसमा निकै प्रभावशाली मानिने यो समूहका दुई नेता केसी र गच्छदार मात्रै राजनीतिमा सक्रिय छन् ।

खड्काको दुई वर्षअघि निधन भयो भने अर्का नेता जोशी भ्रष्टाचार आरोप लागेपछि कांग्रेस राजनीतिबाट किनारा पर्दै गएका छन् । करिव चार वर्षअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तनहुँमा रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको भन्दै जोशी पार्टी सदस्यबाटै निलम्बनमा छन् ।

कांग्रेस राजनीतिमा सक्रिय दोस्रो पुस्ताका नेताहरुमा पर्छन् गच्छदार । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए भने गच्छदार नवौं महाधिवेशनबाट ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय